
सुनाखरी न्युज/ काठमाडौं ।
थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
६३ जना घाइते भएका छन्।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
अमे एसोसिएटेड प्रेस (एपी)का अनुसार बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजे आगलागी भएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पबबाट ठूलो आगोको मुस्लो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल घटनास्थल पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।
प्रधानमन्त्रीका अनुसार घटनास्थलमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिकको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए। त्यसपछि अचानक विद्युत् आपूर्ति बन्द भएको, केहीबेरमै विस्फोटको आवाज सुनिएको र बाक्लो धुवाँले पूरै पब भरिएको उनले बताएका छन्।
अनुटिनले अधिकांश मृतक पबको पछाडिपट्टिको शौचालय क्षेत्रमा फेला परेको जानकारी दिए।