२०८३ असार २६ , शुक्रवार

आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि ६ उम्मेदवारको नामावली सार्वजनिक

noc-nepal-2019

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ । सिफारिस समितिको १ असारको निर्णय अनुसार २ असारमा पदपूर्तिका लागि सूचना प्रकाशन गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो ।

 

२२ असारसम्म आवेदन दिने अन्तिम म्याद तोकिएकोमा उक्त अवधिभित्र रीतपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारको नाम दर्ता नम्बरको क्रमानुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् ।

 

यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ ।

सूचीमा नाम समावेश भएका नागेन्द्र साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । जेठ तेस्रो साता साहले सेवाबाट अवकाश पाएका थिए ।

छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।