
सुनाखरी न्युज/ काठमाडौं ।
देवता मन्दिर निर्माणका क्रममा बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले बझाङको छबिसपाथिभेरा गाउँपालिकामा बाँठपालीका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ९ जनाविरुद्ध २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५-०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित बजेटमार्फत मन्दिर निर्माण गर्दा व्यापक अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको छ।
आयोगका अनुसार मन्दिर निर्माणका क्रममा वास्तविक भएको कामभन्दा अस्वाभाविक रूपमा बढी काम भएको देखाई, अस्वाभाविक दररेट कायम गरी र उपभोक्ता समितिको लागत सहभागिता समेत नघटाई झुटो बिल भरपाई बनाएर भुक्तानी लिइएको पुष्टि भएको छ।
मुद्दा दायर गरिएकाहरूमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल र सब(इन्जिनियर बम बहादुर बोहरा रहेका छन्।
उनीहरूले बदनियतपूर्वक गलत प्रतिवेदन तयार पारी भ्रष्टाचारमा सहयोग पुर्याएको आयोगको ठहर छ।