
सुनाखरी न्युज / काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविपरीत सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे ।
सभामुखले समय दिएपछि कांग्रेसको तर्फबाट बोल्दै सांसद रेनुका काउचाले संविधान र ऐनले बालबालिकालाई पार्टी सदस्य बन्न नदिने बताइन् ।उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यमा प्रयोग गर्न नपाइने संवैधानिक र कानुनी व्यवस्थाको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ।
१८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि हो रु बालबालिकाको मतको भर्याङ चढेर रास्वपामा भर्खरै धेरै नेताहरू निर्वाचित हुनु भएको छ । विद्यार्थीले राजनीतिक गर्न नहुने भन्दै स्ववियू खारेज गर्ने तयारीमा रहेको सरकारले यसप्रति ध्यान देओस्।’