
सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या निश्चित गर्न सूची तयार गर्दैछौं’ उनले भने । तर भोटिङ्ग समय अझै टुङ्गो लागेको छैन ।
उनका अनुसार ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदानको प्रबन्ध मिलाइएको छ । १५ देखि २० मिनेटमा एक जनाले भोट गरेर सकाउने र मतदान सकिएको १ घण्टामा नै नतिजा आउने रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ । रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ । रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।