२०८३ असार ९ , मंगलबार

पूर्वअर्थमन्त्री पौडेल पक्राउ, भट्टलाई व्यावसायिक लाभ हुने गरी सघाएको आरोप

Bishnu Poudel

सुनाखरी न्युज/ काठमाडौं ।
एमाले उपाध्यक्ष तथां पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘दीपक भट्टको व्यवसायलाई लाभ पुर्‍याउने गरी काम गरेको देखिएको छ । त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पूर्वअर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ । सस्तोमा सेयर बिक्री गरेबापत मलाई के लाभ हुन्छ ? भन्ने व्यापारीको प्रश्नमा पूर्वअर्थमन्त्री पौडेलले चार वटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन् । आश्वासन दिएकोमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेलामा सम्पन्नसमेत गरेका रहेछन् । केही पूरा नभएको भन्ने बयान नै प्राप्त भएको छ । त्यसका आधारमा उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो ।’

अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति ‘पार्किङ’ पनि गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् ।