
सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा ९हिटवेभ चल्ने सम्भावना रहेको जनाएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ।
यता धनगढीमा ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। वीरगञ्ज, भैरहवा र घोराहीमा गर्मी र चर्को घाम रहने छ। विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक कामबाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।