२०८३ असार १ , सोमवार

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

Untitled-design-(19)-1781247466

 

सुनाखरी न्युज/ काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण गराउँदै वन प्रहरीको उपस्थितिमा एक गरिब टेम्पो चालकको सवारीसाधन भीरबाट खसालिएको दृश्यले आफूहरू मर्माहत भएको बताए। साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे ।

नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भएपनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो। उनले भने,‘एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो । त्यो दृश्यले हामी मर्माहत छौं । त्यसतर्फ गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दोषिलाई कारवाही होस् र क्षतिपूर्तीको व्यवस्था गरियोस् ।

त्यो सँगै घरको छानामा ढुंगा हान्दै गरेको पनि देखियो । अचम्म लाग्छ, आजभोली प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने वित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो । प्रहरी देख्दा डर र आतंक मान्ने वातावरण तुरुन्त सच्याइयोस् ।’साम्पाङले सोही बैठकमा घरको छानामाथि ढुंगा हानेको अर्को दृश्यप्रति पनि चिन्ता व्यक्त गर्दै पछिल्लो समय प्रहरी व्यवहारप्रति गम्भीर प्रश्न उठेको बताए । उनका अनुसार नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भए पनि केही घटनाले डर र त्रासको वातावरण सिर्जना गरेको छ। उनले यस्तो अवस्थालाई तुरुन्त सच्याउन सरकारलाई आग्रह गरेका छन्।