२०८३ जेठ ३१ , आइतवार

बिश्व बजारमा सुनको मूल्य ६ महिनायताकै सबभन्दा कम

gold

सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य करिब ६ महिना यताकै न्यून विन्दुमा आएको छ।

 

हाल सुन प्रतिऔंस ४ हजार डलरको आसपास कारोबार भइरहेको छ। यसअघि यसको मूल्य प्रतिऔंस ५ हजार ५८९ डलरसम्ममा कारोबार भइरहेको थियो।

केही समयअघि बनेको ऐतिहासिक उच्च मूल्यबट सुनको मूल्य करिब २० प्रतिशतभन्दा धेरैले घटेको छ।

अमेरिकामा बढ्दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अपेक्षाले मूल्य घटिरहेको हो।

अमेरिकी उपभोक्ता मूल्य सूचकांक तीन वर्षयताकै उच्च दरमा पुगेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्नेभन्दा पनि कडा मौद्रिक नीति कायम राख्न सक्ने अनुमान लगानीकर्ताले गरेका छन्।

सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्छ।

सुनले ब्याज वा मूल्य परिवर्तनबाट बाहेक प्रतिफल नदिने हुँदा लगानीकर्ताहरू उच्च प्रतिफल दिने सरकारी ऋणपत्रतर्फ आकर्षित हुन्छन्।

यही कारणले हाल अमेरिकी ऋणपत्रको प्रतिफल र सुनबीचको प्रतिस्पर्धा बढेको विश्लेषकहरूको भनाइ छ।

मध्यपूर्वको भू-राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले अहिले पनि सुनको मूल्यले टेवा पाउने विश्लेषकहरू बताउँछन्।

 

केही विश्लेषकहरूले अहिले सुनको मूल्य आएको ४ हजार डलर आसपासको स्तरलाई महत्वपूर्ण टेवाको रूपमा मानेका छन्।

छोटो अवधिमा सुनमा थप उतारचढाव रहने सम्भावना देखिएको छ।

 

नेपाली बजारमा सुनको मूल्य दुई दिनमा प्रतितोला १५ हजार दुई सय रूपैयाँले घटेको हो।

बुधबार तोलामा १० हजार एक सय रूपैयाँ र बिहीबार प्रतितोला पाँच हजार एक सय रूपैयाँ घटेको हो।

बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

केही समय अघि सरकारले सुनको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुऱ्याएको थियो।

सोलगत्तै मूल्य तीन लाख ११ हजार तीन सय रूपैयाँसम्म पुगेको थियो।

अहिले अन्तर्राष्टिय बजारमै सुनको भाउ घट्न थालेपछि स्थानीय बजारमा पनि सुन सस्तो भएको हो।