२०८३ जेठ २९ , शुक्रवार

ईश्वरी भुजेलको हत्या प्रकरण : नेपाली ब्रोले गरे अपराध कबुल, प्रेमिका भनिएकी युवती प्रहरी नियन्त्रणमा

kumar-thapa_yROnzO5clN

सुनाखरी न्युज/ काठमाडौं।

एक साताअघि तारकेश्वर नगरपालिका ६, लोलाङ, पैँयुटारमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका थप तीनजनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनालगत्तै शुक्रबार राति ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिई त्यहाँस्थित प्रहरी वृत्तको हिसातमा राखेको थियो भने भोलिपल्ट थप तीनजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा नुवाकोट, तारकेश्वर गाउँपालिका- ३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षका विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पूजन थापा र जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छन् । पक्राउ परेकामध्ये विक्रम ‘नेपाली ब्रो’ का आफ्नै भाइ हुन् भने पूजन र प्रतीक्षा साथी हुन् । मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएका कारण विक्रम, पूजन र प्रतीक्षालाई पक्राउ गरिएको हो ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार नेपाली ब्रोले अपराध कबुल गरेका छन् । अन्यले इन्कारी बयान दिएको प्रहरीले बताएको छ । पक्राउ परेकी प्रतीक्षा नेपाली ब्रोकी प्रेमिका भएको ईश्वरीका माइती परिवारले जाहेरीमै उल्लेख गरेका छन् । यसलाई पुष्टि गर्ने खालका फोटो भीडिओहरु पनि सार्वजनिक भएका छन् । तर, प्रतिक्षाले प्रहरीसँग आफू नेपाली ब्रोको साथी मात्रै भएको दावी गरेकी छन् । नेपाली ब्रोसँग एक टिकटकरको हिसाबले भेट भएको र सँगै केही टिकटक बनाएको बाहेक अन्य कुनै किसिमको सम्बन्ध नरहेको उनको भनाइ छ ।

‘टिकटक बनाउने आदत लागेका कारण म फसेँ, त्योबाहेक नेपाली ब्रोसँग मेरो अरु कुनै सम्बन्ध होइन’, प्रहरी बयानमा उनले भनेकी छन् । आफू नेपाली ब्रोको प्रेमिका भन्ने ईश्वरीको माइती पक्षले गरेको दावीलाई झुठो भन्दै उनले आफू अध्ययन र रोजगारीको खोजीमा काठमाडौं आएकोे बताएकी छन् ।