
सुनाखरी न्युज/ काठमाडौं ।
आजभोलिको जीवनशैलीमा धेरैजसो समय कुर्सीमा बसेर, कम्प्युटरको किबोर्डमा औँला ठोक्दै बित्ने गरेको छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्य र शरीरको हेरचाह गर्नु आफैँमा चुनौतीपूर्ण बन्दै गएको छ । हाम्रो दैनिक आहारमा जंक फूड र डिब्बाबन्द खाद्य सामग्रीको मात्रा बढ्दो छ, जसका कारण शरीरमा आवश्यक भिटामिन र खनिजको कमी देखिन थालिएको छ ।सामान्यतया क्याल्सियम, भिटामिन डी र भिटामिन बी–१२ लाई धेरैले प्राथमिकतामा राख्छन् । तर बायोटिनबारे भने धेरैले खासै ध्यान दिँदैनन् । बायोटिन पनि शरीरका लागि उत्तिकै आवश्यक भिटामिन हो । यसलाई भिटामिन बी–७ पनि भनिन्छ । यसले शरीरलाई जवान, स्वस्थ र सुन्दर राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
किन चाँडै आउँछ बुढ्यौली ?
भिटामिन बी–कम्प्लेक्समा आठ प्रकारका भिटामिन हुन्छन्ः थायामिन ( बी–१ ) , रिबोफ्लेभिन ( बी–२ ) , नियासिन ( बी–३ ) , प्यान्टोथेनिक एसिड ( बी–५ ) , पाइरिडोक्सिन ( बी–६ ) , बायोटिन ( बी–७० ) , फोलिक एसिड ( बी–९ ) र कोबालामिन ( बी–१२ ) । यी सबै भिटामिन पानीमा घुल्ने खालका हुन्छन् र शरीरको स्नायु प्रणालीको कार्य सुचारु राख्न मद्दत गर्छन् ।
यीमध्ये भिटामिन बी–७ अर्थात् बायोटिनको कमी हुँदा कपाल झर्ने, नङ कमजोर हुने, छालामा चाउरी पर्ने, कपाल र छाला सुख्खा हुने तथा मेटाबोलिज्म सुस्त हुने समस्या देखिन सक्छ । भिटामिन बी–७ को अभावलाई ‘शरीरको साइलेन्ट हत्यारा’ समेत भनिन्छ । यसको दीर्घकालीन कमीले शरीरलाई भित्रैबाट कमजोर बनाउँदै लैजान्छ । महत्त्वपूर्ण कुरा के हो भने बायोटिन शरीरले आफैँ उत्पादन गर्न सक्दैन । त्यसैले यसलाई दैनिक आहारमार्फत नै प्राप्त गर्नुपर्छ ।
आयुर्वेदिक दृष्टिकोणबाट बायोटिनलाई धातु–पोषणको सहायक मानिन्छ । यसले छाला, कपाल र नङको वृद्धि गर्न सहयोग गर्छ । बायोटिनले मेटाबोलिज्मलाई सुदृढ बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा कार्बोहाइड्रेटलाई ऊर्जामा परिणत गर्न मद्दत गर्छ । रगतमार्फत प्राप्त हुने ऊर्जा शरीरका प्रत्येक अंगसम्म पुगेर तिनको कार्यक्षमता सुधार गर्छ । यसले एमिनो एसिडको कार्यलाई पनि प्रभावकारी बनाउँछ, जसले कोषहरूको वृद्धि र मर्मत प्रक्रियालाई सहज बनाउँछ । समग्रमा भन्नुपर्दा, बायोटिनको कमीले शरीर कमजोर हुनुका साथै समयपूर्व बुढ्यौली निम्त्याउन सक्छ ।
अब प्रश्न उठ्छ- दैनिक आहारबाट भिटामिन बी–७ कसरी प्राप्त गर्ने ?
भिटामिन बी–७ विभिन्न खानामा सजिलै पाइन्छ । बदाम, ब्रोकाउली, मीठो आलु, सूर्यमुखीको बियाँ, ओट्स, च्याउ, पालुङ्गो र भटमास नियमित रूपमा सेवन गर्दा बायोटिनको आवश्यक मात्रा पूर्ति गर्न सकिन्छ ।