२०८३ जेठ २७ , बुधवार

१० हजार सरकारी कर्मचारीको एकै पटक बिदा गरिँदै

Priminister Office

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले एकैसाथ करिब दस हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानुन ल्याउने तयारी गरेको छ । ५५ वर्ष उमेर वा सेवा अवधि ३० वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृहकार्य सरकारले गरिरहेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ ।

ऐन लागू हुने मितिमा ५५ वर्ष उमेर पूरा भएका वा सेवा अवधि ३० पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘त्यो प्रावधान एक पटकलाई हो, त्यसरी अवकाशमा जानेबाहेकका कर्मचारीका लागि भने अवकाशको उमेर हद ६० वर्ष हुनेछ,’ उनले भने ।

विधेयकले ऐनको रूप लिए एकै पटक १० हजार हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताबखानाले सरकारलाई जानकारी दिएको छ । प्रत्येक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या २ हजारदेखि ३ हजारसम्म हुन्छ । किताबखानाको तथ्यांकअनुसार चालु आव ०८२-८३ मा अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या २ हजार २ सय ११ छ । ५५ वर्ष उमेर वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानुन आए तीबाहेक १० हजार कर्मचारीले बिदा पाउनेछन् ।