२०८३ जेठ २१ , बिहिवार

६ वटा सहकारीलाई डेरा लिएको घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम

KAthmandu_plaza_mahanagar

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले केही सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न कडा निर्देशन दिएको छ।महानगरको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी समेत दिएको हो।

निर्देशनको दायरामा सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू परेका छन्।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार उल्लेखित सहकारी संस्थाका पदाधिकारी ( सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति )  कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।