
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किर्एलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् ।भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।
खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबीचका विभिन्न सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ । उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि पहल भए पनि निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
खनालको दिल्ली भ्रमणका क्रममा कनेक्टिभिटीदेखि सीमा विवाद समाधान गर्नेसम्मका विषयमा संवाद हुने जनाइएको छ। दुई पक्षबीच पञ्चेश्वर, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान तथा व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारीसमेत छ । पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकरबीच छलफल हुनेछ ।