२०८३ जेठ १९ , मंगलबार

दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा

king-birendra-cover

 

सुनाखरी न्युज/ काठमाडौं ।

तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको दाबी गरिएको छ । प्रतिवेदन विपरित अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय नै छ ।

दरबार हत्याकाण्ड पछि बनेका हरेक सरकारले घटनाको सत्यतथ्य छानबिन गर्ने उद्घोष गरे पनि घटनाको दुई दशक बितिसक्दा कुनै अनुसन्धान हुन सकेको छैन । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २५ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ।

त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।