२०८३ जेठ १७ , आइतवार

नसा च्यापिँने समस्या कसरी हुन्छ ? नसा च्यापिएको कसरी थाहा पाउने

back pain1684373856

 

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समय फेरिँदो जीवनशैली, व्यायामको कमी र गलत बसाइँका कारण धेरै मानिसहरूमा नसा च्यापिने समस्या आम बन्दै गइरहेको छ। अस्पतालका हाडजोर्नी तथा नसा रोग अर्थोपेडिक र न्यूरो ओपीडीहरूमा ढाड दुख्ने र नसा च्यापिएका बिरामीहरूको चाप दिन प्रतिदिन बढ्दो छ। युवा वर्गदेखि वृद्धवृद्धासम्मलाई सताउने यस समस्यालाई समयमै ध्यान नदिए यसले गम्भीर रूप लिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

नसा च्यापिएमा शरीरमा के हुन्छ
चिकित्सकहरूका अनुसार, मानिसको मेरुदण्डका हड्डीहरू बीचमा शक एब्जर्भर को रूपमा काम गर्ने कुरकुरे हड्डी वा डिस्क हुन्छ। जब कुनै कारणले यो डिस्क आफ्नो ठाउँबाट चिप्लिन्छ, बाहिर निस्कन्छ वा फुट्छ, त्यसले स्पाइनल कर्डबाट निस्कने नसालाई थिच्छ। यसलाई नै चिकित्सकीय भाषामा हर्नियटेड डिस्कु र सामान्य भाषामा नसा च्यापिएको भनिन्छ।

नसा च्यापिएपछि शरीरमा मुख्यतया निम्न कुराहरू हुन्छन्

अत्यधिक दुखाइ कम्मर वा ढाडमा कडा दुखाइ हुन्छ। यदि कम्मरको तल्लो भागको नसा च्यापिएको छ भने त्यो दुखाइ तिघ्रा, पिँडौला हुँदै पैतालासम्म सर्न सक्छ जसलाई साइटिका भनिन्छ।

झमझमाउने वा निदाउनेस् च्यापिएको नसाले पुग्ने मांशपेशीहरूमा रगत र अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा हात वा खुट्टा झमझमाउने वा निदाउने हुन्छ।

कमजोरी महसुस हुने सम्बन्धित अंगका मांशपेशीहरू कमजोर हुँदै जान्छन्, जसले गर्दा हिँड्न, उभिन वा सामान उठाउन गाह्रो हुन्छ।

गम्भीर असर अत्यन्त गम्भीर अवस्थामा बिरामीले दिसा वा पिसाबको नियन्त्रण समेत गुमाउन सक्छन्।

नसा च्यापिनुका मुख्य कारणहरू
विशेषज्ञहरूले यस समस्याका पछाडि मुख्यतया हाम्रो दैनिक क्रियाकलाप र जीवनशैलीलाई जिम्मेवार मानेका छन् ।

गलत आसन लगातार लामो समयसम्म कम्प्युटर वा मोबाइलमा निहुरिएर काम गर्नु।

भारी तौल उठाउनुस् अचानक निहुरिएर अत्यधिक गह्रौँ सामान उठाउँदा मेरुदण्डमा पर्ने दबाव।

मोटोपना शरीरको तौल बढी हुँदा मेरुदण्ड र डिस्कमा अतिरिक्त भार पर्नु।

उमेरगत प्रभाव बढ्दो उमेरसँगै हड्डी खिइँदै जानु र डिस्कको लचिलोपन कम हुनु।

व्यायामको कमी शारीरिक निष्क्रियताका कारण मेरुदण्ड वरपरका मांशपेशीहरू कमजोर हुनु।

रोकथाम तथा उपचारका उपायहरू
हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरूका अनुसार नसा च्यापिने समस्याको सुरुवाती चरणमै उपचार गरेमा शल्यक्रिया बाट बच्न सकिन्छ। यसको व्यवस्थापनका लागि निम्न उपायहरू अपनाउन सल्लाह दिइन्छ ।

१। जीवनशैली र आसनमा सुधार बस्दा वा उभिँदा सधैँ ढाड सीधा राख्ने। लामो समय एकै ठाउँमा नबस्ने, बीचबीचमा उठेर हिँड्ने।
२। सही तरिकाले सामान उठाउने भुइँबाट कुनै पनि सामान उठाउँदा कम्मरबाट ननिहुरिई घुँडा खुम्च्याएर गरेर मात्र उठाउने।
३। नियमित व्यायाम ढाड र कम्मरका मांशपेशीहरू बलियो बनाउने व्यायाम, योगासन र स्ट्रेचिङ नियमित गर्ने।
४। चिकित्सकीय परामर्श दुखाइ सुरु हुनेबित्तिकै पेनकिलर मात्र खाएर नबस्ने। चिकित्सकको सल्लाहमा आवश्यक परीक्षण गराउने।
५। फिजियोथेरापी धेरैजसो नसा च्यापिने समस्याहरू फिजियोथेरापी, तातो र चिसो सेकाइ र पर्याप्त आरामबाटै निको हुन्छन्।