२०८३ जेठ १३ , बुधवार

सर्वाेच्च शिखरमा पोखरा एभेन्जर्सको झण्डा

pokhara-avengers-mt-everest

 

सुनाखरी न्युज/ काठमाडौं । 

नेपाली पर्वतारोही तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड पासाङ काजी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पोखरा एभेन्जर्सको झण्डा फहराउँदै जलवायु चेतनाको सशक्त सन्देश दिएका हुन्। पोखरा एभेन्जर्सले प्रेस विज्ञप्ती जारी गर्दै खेलकुदमार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराइएको जनाएको छ ।

२३ मे बिहान ३ : ५० बजे सम्पन्न भएको उक्त सफल आरोहण पासाङ काजी शेर्पाको आठौँ एभरेस्ट सफलता हो। यसअघि उनले केटु, चो ओयु र मनास्लुजस्ता विश्वका कठिन हिमालहरू समेत सफलतापूर्वक आरोहण गरिसकेका छन्। यस अभियानलाई केवल साहसिक उपलब्धिका रूपमा नभई “हिमाल जोगाऔँ, भविष्य बचाऔँ” भन्ने साझा प्रतिबद्धताको प्रतीकका रूपमा हेरिएको छ। पोखरा एभेन्जर्सले क्रिकेटको लोकप्रियता प्रयोग गर्दै हिमनदी संरक्षण, जलवायु परिवर्तन र वातावरणीय संकटबारे विश्व समुदायलाई सचेत गराउने प्रयास गरेको जनाएको छ।

नेपाल प्रिमियर लिगको चर्चित टोली पोखरा एभेन्जर्सले स्थापना कालदेखि नै क्रिकेट विकाससँगै सामाजिक र वातावरणीय मुद्दामा सक्रिय भूमिका खेल्दै आएको छ। सगरमाथाको शिखरमा फहरिएको पोखरा एभेन्जर्सको झण्डालाई धेरैले नेपाली खेलकुद, पर्यटन र हिमाल संरक्षणलाई एउटै मञ्चमा जोड्ने ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्।