२०८३ जेठ १२ , मंगलबार

‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’

मा.ध्रुबराज राई, संसदीय दलको उपनेता

ध्रुवराज राई-
नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन्दोलन भए । २०५२–२०६ को सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन दोस्रो जनआन्दोलन र मधेस आन्दोलन तथा विभिन्न समयमा भएका सङ्घर्षबाट २०६५ जेठ १५ गते संविधानसभाको पहिलो वैठकले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । करिब २४० वर्षीय शाहवंशीय राजतन्त्रको अन्त्य भएको दुई दशक हुनै लागेको छ । अहिले हामीले देशको सर्वोच्च पद शासक वंशका आधारमा नभई निर्वाचन वा प्रतिनिधिबाट चयन हुने व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर, व्यवस्था फेरिए पनि जनताको अवस्थामा तात्विक परिवर्तन हुन नसकेको गुनासो आइरहेको छ । प्रस्तुत छ, गणतन्त्र दिवसको अवसरमा यी र यस्तै विषयमा श्रम संस्कृति पार्टी, संसदीय दलका उपनेता ध्रुवराज राईसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश :

 मुलुकमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ, यो अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

लामो सङ्घर्ष र बलिदानपछि आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । गणतन्त्र नेपालको लागि आवश्यक पनि थियो । राजतन्त्रले लामो समय जनतालाई दुःख दिने काम ग¥यो । जनताको साथ र सहयोगसँगै तत्कालीन सात दल र नेकपा ९माओवादी० को संयुक्त प्रयासबाट गणतन्त्र आयो । संविधान सभाको निर्वाचन भयो । संविधान निर्माण पनि भयो । यो बीचमा केही राम्रा काम पनि भएका छन् । जनतालृ स्वतन्त्र हुन पाएका छन् । विकासका काम भएका छन् । अहिले गाउँ–गाउँमा धुँलै÷हिलै भए पनि बाटो पुगेको छ, विद्यालय र स्वास्थ्य चौकी पुगेको छ । पहिला स्थानीय तहमा न्यून बजेट थियो तर अहिले केही बढेको छ । तर, उपलब्धिमूलक काम नभएको भन्ने मेरो बुझाई छ ।

 व्यवस्था फेरिए पनि हाम्रो अवस्था फेरिएन भन्ने जनताको गुनासो छ नि ?

विगतको सरकारले जसरी रोजगारीको व्यवस्था गर्नु पर्ने नियो, त्यो गर्न नसकेको हो । अहिलेको सरकारलाई हेर्न बाँकी छ । यद्यपि सरकारको नीति तथा कार्यक्रम उत्साहजनक देखिदैन । आज पनि युवा पलायन भई नै रहेको छ । दैनिक युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशतिरै कुदिरहेको देखिन्छ । अझ पनि जनता निराशामै छ । त्यही जनताको अवस्था परिवर्तन भएन भनेर जेन–जी सङ्घर्ष भएको हो । आशा गरौँ, वर्तमान सरकारले जनताको अवस्था फेर्ने गरी काम गर्नेछ । फेरि जनताको अवस्था उस्तै भयो भनेर राजतन्त्रमा फर्किने कुरो हुँदैन, गणतन्त्रको उत्तम विकल्प भनेको गणतन्त्र नै हो । हामीले यसलाई थप बलियो र सुदृढ बनाउँदै लैजानुपर्छ । गणतन्त्र नेपालको लागि उत्तम व्यवस्था हो । तर, यसलाई राम्रोसँग सञ्चालन गर्ने नेतृत्व भएन कि भन्ने मलाई लागेको छ । जनताको अवस्था फेर्न राम्रो कार्यकारी प्रमुख चाहिन्छ ।

 गत भदौ २३ र २४ गते भएको जेन–जी आनदोलनसँगै गणतन्त्र ओझेलमा परेको हो कि जस्तो देखिन्छ नि ?

गणतन्त्र ओझेलमा परेको छैन । गणतन्त्र व्यस्थामा आफैँमा नराम्रो होइन तर गणतन्त्रभित्र कसरी शासन गरिरहेको छ भन्ने कुरा हो । राजतन्त्र अन्त्य भए पनि दलका नेताहरुले राजाको जस्तै व्यवहार पो देखाएका हुन् कि भन्ने हो । सायद त्यसैले युवाहरुले जेन–जी आन्दोलन गर्नुपरेको होला । मुख्य प्रश्न देश सञ्चालन गर्ने व्यक्ति गणतन्त्रको मूल्य–मान्यता अनुसार हिडेको छ कि छैन भन्ने हो । संविधानको मर्मअनुरुप हिडेको छ वा छैन भन्ने हो । तर पनि गणतन्त्रलाई अझै बलियो बनाउनु पर्नेछ । त्यसको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरेर काम गर्नुपर्छ । जनतालाई सुशासनको अनुभूति दिनुपर्छ । जनताका शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत अधिकारको सुनिश्चित हुनुप¥यो । जस्तोः अहिले खेती किसान गर्ने किसानलाई बाँदरले दुःख दिएको छ । किसानको मुख्य समस्या बाँदरलगायत जङ्गली जनावर भएको छ । त्यसको व्यवस्थापनको लागि सरकारले नीति बनाउनुपर्छ । नीति कार्यान्वयन गरेर समस्याको समाधान गर्नुपर्छ । सरकार आफू पनि अनुशासनमा रहनुप¥यो, जनतालाई पनि अनुशासनमा राख्नुप¥यो । सरकारले जनतालाई सुशासन दिनु नै मुख्य कुरा हो । विचौलियाले संसार सक्यो भनेर हामी भनिरहेका छौँ । त्यसलाई रोक्नुप¥यो, धेरै रोइकराइ गर्नु पर्दैन । प्राकृतिक रुपमा हामीलाई धेरै चिजले साथ दिएको छ । त्यसको सही सदुपयोग गर्न सकेको खण्डमा गणतन्त्र त्यसै फस्टाइहाल्छ ।

 देशको समग्र आर्थिक विकासको निम्ति तपाईँले देखेको सम्भावना के हो ?

हामीले श्रमदानबाट पनि देशलाई आर्थिक विकासको बाटोमा अगाडी बढाउन सकिन्छ भनेर लागिरहेका छौँ । हामी अरु देशभन्दा स्रोत÷साधनमा धनी छौँ । मात्र त्यसको सही प्रयोग गर्न सकेका छैनौँ । हामी पर्यटकीय रुपमा पनि धनी छौँ । तर, हामीसँग योजना नभएका कारण पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । पर्यटनको क्षेत्रमा विकास गर्न सकेको खण्डा मात्रै देशलाई आर्थिक रुपमा धेरै लाभ हुन्छ । देशमा निजी क्षेत्रले सबै गर्नसक्ने सरकारले नसक्ने भन्ने हँदैन । चाहेको खण्डमा सरकारले पनि धेरै गर्नसक्छ । भ्रष्टाचार नहुनु र जनताले सुशासन पाउनु भनेको देश आर्थिक रुपमा विकास हुनु हो । देश बन्न हामी नेपाली अल्छि हुनु हुँदैन । अर्को कुरा नीति कार्यक्रम बनाएर त्यसको कार्यान्वयन हुनुपर्छ । अहिले इमान्दारीपूर्वक काम गर्ने कर्मचारीले ऋण लिएर पनि आफ्नो एउटा घर बनाउन सकेको छैन । तर भ्रष्टाचारीको महल छन् । त्यो भ्रष्टाचारी र विचौलियालाई रोक्न सक्दा देशको आर्थिक विकास हुन्छ ।

 युवा पलायन रोक्न के गर्न सकिन्छ होला ?

अहिले हाम्रो देशको ठूलो समस्या भनेको वैदेशिक रोजगार बनेको छ । खेतबारी बाँझो राखेर अहिले हामी विदेश उडिरहेका छौँ । यो दुःखलाग्दो विषय हो । युवालाई देशभित्रै राख्नका लागि सरकारले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । देशको अर्थतन्त्रलाई सही ढङ्गबाट सञ्चालन गर्नुप¥यो । देशमा भ्रष्टाचारी र विचौलियाले पैसा लुकाएर राख्ने वातावरण बन्नु हुँदैन । देशको उद्योग कलकारखाना सञ्चालन हुँदा पनि युवा पलायन रोक्न सकिन्छ । अहिले देशमा भएका उद्योग कलकारखाना सबै ठप्प छन् । जसले जत्ति पैसा बोक्न पनि पाउने, लुकाउन पनि पाउने नीति हुनु हुँदैन । मुख्य कुरा पुराना सत्ताधारीले बिगार्दै आएको हो । अब तपाईँ हामीले पनि फेरि त्यसै गल्ती गर्नु हुँदैन । सरकारले ल्याउने बजेट पनि गाउँ केन्द्रित हुनुपर्छ । जनता केन्द्रित हुनुप¥यो । बजेटको बारेमा मधेशको कुना–कुनाको गरिबदुःखीले थाहा पाउनुपर्छ । गरिबदुःखीलाई केन्द्रमा राखेर बजेट विनियोजन हुनुपर्छ । केही न केही परिवर्तन होस् भनेर जेन–जी विद्रोह भएको हो । त्यसको महसुस जनताले गर्न पाउनुपर्छ र सरकारले पनि त्यही अनुसार काम गर्नुपर्छ । अहिले देश बनाउने उपयुक्त समय हो ।

 अहिलेको सङ्घीय व्यवस्थालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ होला ?

त्यसको लागि जनताले इमान्दार प्रतिनिधि छान्नुप¥यो । प्रदेशको मुख्यमन्त्री इमान्दार हुनुप¥यो । कर्मचारी इमान्दार हुनुप¥यो । स्थानीय तह सञ्चालन अझै इमान्दार हुनुप¥यो । तीन तहको सरकारको बीचमा समन्वय हुनुपर्छ । हामी आशावादी छौँ, देश बन्छ । अहिले जनताले २०७९ मा भोट हालेको अब अहिले पनि हालौँ भनेर २०८२ सालमा भोट हालेको होइन । परिवर्तनको खातिर हालेको हो । त्यसकारण सङ्घीयता सुदृढीकरणमा पनि सरकारको महत्वपूर्ण भूमिका हुन्छ । अहिलेको सरकारलाई दुई तिहाइ बहुमत यत्तिकै दिएको होइन जनताले । केही होस् भनेर दिएको हो । हिजोका नेतालाई सामान्य चुनौती थियो भने अहिलेका नेतालाई ठूलो चुनौती छ । त्यसैले हामीले जसरी पनि परिवर्तन गर्नुपर्छ । सुधार गर्नुपर्छ सुदृढ बनाउनैपर्छ । त्यसैले साना बालबालिका सडकमा यतिकै आएको होइन । वर्तमान सरकारले केही सुधारका काम पनि थालेको देखिन्छ । सङ्घीय मन्त्रालयको सङ्ख्या पनि घटाएको छ । यो राम्रो पक्ष हो । प्रशासनलाई चुस्त बनाएको छ । अझै जनतालाई पत्यक्ष राहत हुने खालका कार्यक्रम ल्याउनुपर्छ ।
रासस