
सुनाखरी न्युज/ काठमाडौं ।
समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल पुगेकी छन् । बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन् । तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन्। नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो। राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ ।
सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रकी सांसद समेत रहेकी उनी बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।
नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्, ‘बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हो । यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो ।’उनले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बीआइआइले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।