
सुनाखरी न्युज/ काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै साता सार्वजनिक हुँदैछ।
सरकारले यसपालिदेखि इसइईको परीक्षाको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयमा नतिजा सार्वजनिक हुने बताए ।
‘तोकिएअनुसार वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ। हामी त्यसमै खटिइरहेका छौं,’ उनले भने।
बाँकी रहेको काम सकिए त्यसअगाडि नै नतिजा सार्वजनिक हुन सक्ने पनि उनले बताए।
‘रूजुको काम सकिइसकेको छ। उत्तरपुस्तिकाहरू नहराउन् भनेर अहिले रिभ्यूको काम भइरहेको छ। त्यो काम सकिएपछि नतिजा सार्वजनिक गर्ने प्रक्रियामा जान्छ,’ उनले भने।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिन्छ।
यसअघिका वर्षहरूमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो हप्तामा सार्वजनिक गरिन्थ्यो।
चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको छ।
सरकारले नै यसपालि महिना दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
सो अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै नतिजा पठाउन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको थियो।
कापी जाँच्ने काम पनि मापदण्ड तोकेर परीक्षा भएकै केन्द्रमा गरिएको थियो। त्यसकारण यसपालि उत्तरपुस्तिकाहरू संकलन गरेर अन्यत्र पठाउनु नपर्दा पनि नतिजा चाँडै निकाल्न सम्भव भएको हो।