
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने भएको छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्न लागिएको हो ।
यसअघि सन् २०१९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाबाट नियुक्ति हुने राजदूतका लागि मापदण्ड तोकेको थियो । तर, त्यसपछिका सरकारहरूले उक्त मापदण्ड पटक–पटक उल्लंघन गर्दै आएका छन् ।
नेपालमा दुई प्रक्रियाबाट राजदूत नियुक्ति हुँदै आएको छ । पहिलो, परराष्ट्र मन्त्रालयमा कार्यरत ‘करियर डिप्लोम्याट’ मध्येबाट र दोस्रो सत्तारूढ दलले छानेका व्यक्तिहरूमध्येबाट । ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ ले कुल रिक्त राजदूत पदमा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने व्यवस्था छ । तर, मन्त्रालयका अधिकारीहरूले यस पटक ‘करिअर डिप्लोम्याट’ बाट ५० प्रतिशतभन्दा बढी नियुक्ति गर्न माग गरेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको भेटमा खुला प्रतिस्पर्धाबाट राजदूत पदपूर्ति गर्न छिट्टै विज्ञापन आह्वान गरिने संकेत गरेको अधिकारीहरूले बताए । यद्यपि, विज्ञापन कहिले खुल्छ भन्ने निश्चित नभएको उनीहरूको भनाइ छ ।