
सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख १५ गतेको तुलनामा १६ गते बढी वर्षा हुने सम्भावना छ ।
कुन- कुन राजमार्गमा छ जोखिम ?
मौसमविद उज्वल उपाध्यायका अनुसार हाल सक्रिय रहेको मौसमी प्रणालीले काठमाडौं उपत्यकादेखि पूर्वी नेपालको मेचीसम्म प्रभाव पार्नेछ । भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्वदेखि पश्चिमको कालीगण्डकी क्षेत्रसम्म बेला(बेलामा वर्षा भइरहने देखिएको छ । उपाध्यायले वर्षाका कारण बाटो अवरुद्ध हुन सक्ने भन्दै निम्न राजमार्गहरूमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु राजमार्ग, बीपी राजमार्ग प्रयोग नगर्न सुझाव दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसमको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका जिल्लाहरूलाई ‘पहेँलो’ रङले संकेत गर्दै सतर्कता अपनाउन भनेको छ । विभागका मौसमविद सरोज पुडासैनीका अनुसार वैशाख १५ र १६ गते विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनेछ ।‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ ।
वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ । १६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।