२०८३ बैशाख १० , बिहिवार

नगद कारोबारलाई निरुत्साहित गर्दै केन्द्रीय बैंक

NRB-e1760452427287

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा फेरबदल गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मार्फत केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो। जस अनुसार एटीएम कार्डबाट नगद झिक्ने सीमा फेरबदल गर्दै एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिने बनाएको छ । यसअघि यो सुविधा एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न मिल्ले व्यवस्था थियो।

एटीएमको सीमा दैनिक रुपमा ५० हजार रुपैयाँ र मासिक रुपमा ३ लाख रुपैयाँसम्म झिक्न मिल्ने बनाइएको छ । यसमा यसअघि दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यबस्था थियो । प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत हुने कारोबारको सीमामा भने कुनै परिवर्तन गरिएको छैन ।

नगद कारोबारमा केही फेरबदल गरेपनि केन्द्रीय बैंकले वस्तु तथा सेवा खरिद गर्दा कार्डमार्फत गरिने भुक्तानीमा कुनै सीमा लागू हुने छैन । प्रिपेड कार्ड जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरूले प्रति ग्राहक अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले भने अधिकतम २५ हजार रुपैयाँसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने व्यवस्था गरिएको छ । कन्ट्याक्टलेस कार्डमार्फत हुने कारोबारमा प्रति कारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको सीमा तोकिएको छ। मोबाइल बैंकिङ एपमार्फत दैनिक ३ लाख रुपैयाँसम्म र वेबसाइटमार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था यथावत् रहेको छ । प्रिपेड कार्डबाट एक पटकमा १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था यथावत् रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सन्सारमा केही यस्ता देशहरु छन् । जहाँ बैंकका शाखाका संख्या अत्यन्तै कम छन् । बैंकहरु केवल नाम मात्रैका छन् । कतिपयले त बैंक नै देख्न नपाई बैंकलाई विश्वास गरेका हुन्छन् । डिजिटल कारोबार मात्रै होइन सबै कुरा डिजिटलबाटै हुन्छ । खाता खोल्नु, संचालन गर्नु, कारोबार गर्नु, कर्जा लिनु, डिपोजीट गर्नु सबै कुरा डिजिटलबाटै हुने गरेको छ । यी देशहरुलाई क्यासलेस देशहरु पनि भन्ने गरिन्छ । क्यासलेस अर्थात नगद रहित कारोबार कैयौं देशमा सम्भव भएको छ । विशेष गरी विकसित देशहरुमा पूर्णतया क्यासलेस कारोबार लागु भइसकेको छ ।