२०८३ बैशाख १० , बिहिवार

चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किए अन्तरिक्ष यात्री

scientist

सुनाखरी न्युज/ वासिङ्टङ ।

चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनको अन्तरिक्ष यात्रापछि आर्टेमिस-२ मिसनका ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किएका छन्। उनीहरू चढेको ओरायन क्याप्सुल शुक्रबार  प्रशान्त महासागरमा अवतरण भएको हो।

आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्‍याएर सकुशल पृथ्वीमा फर्काउने यो पहिलो ऐतिहासिक मिसन थियो। नासाको इन्टिग्रिटी नाम दिइएको गमड्रप आकारको ओरायन क्याप्सुल क्यालिफोर्नियाको दक्षिणी तटमा स्थानीय समयअनुसार बेलुकी ५ बजेपछि प्यारासुटको सहायताले समुद्रमा खसेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको अन्तिम १३ मिनेट निकै चुनौतीपूर्ण र खतरनाक थियो। यस क्रममा क्याप्सुलको बाहिरी तापक्रम २ हजार ७ सय ६० डिग्री सेल्सियससम्म पुगेको थियो।

अत्यधिक ताप र हावाको दबाबका कारण उत्पन्न प्लाज्माले गर्दा केही मिनेटका लागि यात्रीहरूसँगको रेडियो सम्पर्क समेत पूर्ण रूपमा विच्छेद भएको थियो। तर, सम्पर्क पुन: स्थापित भएसँगै क्याप्सुलबाट प्यारासुटहरू खुलेको देखिएको थियो जसले क्याप्सुलको गतिलाई करिब २५ किलोमिटर प्रतिघण्टामा झार्दै सुरक्षित रूपमा पानीमा अवतरण गरायो।

अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट नासाको विशाल स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमार्फत उडेको यो मिसनले कुल ११ लाख १७ हजार ५ सय १५ किलोमिटरको यात्रा तय गर्‍यो। यस मिसनमा अमेरिकी अन्तरिक्ष यात्रीहरू ५० वर्षीय रिड वाइसम्यान, ४९ वर्षीय भिक्टर ग्लोभर, ४७ वर्षीया क्रिस्टिना कोच र ५० वर्षीय क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए।