२०८३ बैशाख १० , बिहिवार

गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल हुँदै

yatayat-2

सुनाखरी न्युज/ काठमाडौं ।

इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कम नहुने देखिएपछि नेपाल आयल निगमले इन्धन खपत घटाउने रणनीति बनाएको छ, जसअन्तर्गत सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने प्रस्ताव छ।द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अभूतपूर्व रूपमा उकालो लागिरहेको छ, जसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा देखिन थालेको छ। मूल्यवृद्धिको दबाबसँगै नेपाल आयल निगमले दैनिक रूपमा ठूलो आर्थिक घाटा व्यहोर्नु परिरहेको जनाएको छ।मंगलबारको मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनतालाई पर्ने मार कम गर्न भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यस्तै पेट्रोलियम पदार्थको अत्यधिक आयात र यसले अर्थतन्त्रमा पारेको चाप कम गर्न सरकारले सवारीसाधनमा ‘जोरबिजोर प्रणाली’ लागु गर्न सक्ने पनि बताएको छ । यस्तो प्रणाली लागू गर्दा इन्धन खपतमा उल्लेखनीय कमी ल्याउन सकिने, ट्राफिक व्यवस्थापनमा सहजता आउने र विदेशी मुद्रा बाहिरिने दर केही हदसम्म नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ। यद्यपि, यसले सर्वसाधारणको दैनिक जीवन, व्यवसाय तथा सार्वजनिक यातायातमा पार्नसक्ने प्रभावबारे पनि गम्भीर बहस आवश्यक देखिन्छ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ। जसकारण नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी भएको छ। नेपाल आयल निगमले मूल्यवृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नुपरेको भन्दै खपत कम गर्ने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको छ।इन्धन खपत कम गर्नकै लागि मन्त्री रावलले सर्वसाधारण र निजी क्षेत्रलाई सम्भव भएसम्म ‘वर्क फ्रम होम’  ( घरबाटै काम)  को अभ्यास गर्न र विद्युतीय सवारीसाधन  ( ईभी )  प्रयोग बढाउन विशेष आह्वान गरिन् ।

‘दीर्घकालीन रूपमा ईभी रूपान्तरणको कानुनी व्यवस्था अगाडि बढेको छ, इथानोल नीतिमा तयारी भइरहेको छ र ईभी पूर्वाधार विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ,’ उनले भनिन् । आम नागरिकको दैनिक जीवनयापनदेखि समग्र अर्थतन्त्रसम्म प्रत्यक्ष असर पार्ने यो कदम विगतमा पनि संकटको समयमा लागु गरिएको थियो, जसले इन्धन खपत घटाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।