
सुनाखरी न्युज/ काठमाडौं ।
चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बुधबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को अवसरमा निर्माताले फिल्मका दुई अर्थपूर्ण पोस्टर दर्शकमाझ ल्याएका हुन् । ‘हरेक विद्यार्थीको कथा’ थिमसहित निर्माण भएको फिल्मले विद्यार्थी, शिक्षण शैली, शिक्षा प्रणाली र समाजको कथालाई पेश गर्ने जनाइएको छ जौन योञ्जन निर्देशित फिल्म बाल मनोविज्ञानमा आधारित छ ।
चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए । सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फस्र्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो उठाउनेछ ।म्याग्दीको हिमाली तथा दुर्गम गाउँ रुममा छायांकन गरिएको फिल्मले ग्रामीण परिवेशलाई चित्रण गर्छ । अहिले पोस्ट(प्रोडक्सनमा रहेको यो फिल्मले मुलुकको वर्तमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने निर्माता पौडेलले बताए ।
सार्वजनिक दुई पोस्टरमध्ये एकमा मुकुन र निर्भिकलाई चित्रण गरिएको छ । अर्को पोस्टरमा रेणु पनि देखिएकी छन् । ग्रामीण र विपन्न जस्तो देखिने पात्रको रोलमा यी कलाकार पोस्टरमा चित्रण छन् । यो फिल्मको एक गीतमा म्याग्दीको ग्रामीण भाखामा तयार पारिएको छ, जसमा प्रशान्त शिवाकोटीको संगीत छ । सार्वजनिक भएपछि यो गीतले दर्शकको मन जित्ने आशा निर्माताको छ । यो फिल्म १५ जेठदेखि प्रदर्शन तयारीमा छ ।