
सुनाखरी न्युज/ काठमाडौं ।
नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न थालेपछि त्यहाँ बसिरहेका केही न्यायाधीशहरु ‘बसाइँ सर्ने’ योजना बनाउन थालेका छन् । केहीले अस्थायी रुपमा भए पनि क्वाटर छाड्ने तयारी गरेका हुन् ।गृहमन्त्री सुधन गुरुङ त्यहाँ सरिसकेका छन् भने ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्य मन्त्री निशा मेहता र कानुन मन्त्री सोविता गौतम पनि सोही परिसरमा बस्ने तयारीमा छन् ।
ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न मन्त्री निवास बनेपछि पुल्चोक निवासबाट मन्त्रीहरु भैंसेपाटी सरेका थिए । पुल्चोकको निवासमा भने न्यायाधीशहरु बस्दै आएका छन् । जेनजी आन्दोलनका बेला भएको आगजनीले ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित मन्त्रीनिवास क्षतिग्रस्त बनेको छ । त्यहाँ रक्षामन्त्री बसेको बाहेक सबै घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएको थियो । उक्त परिसरमा यसअघि नै सर्वोच्च अदालतका १३ न्यायाधीश बस्दै आएका छन्। मन्त्री र न्यायाधीश एउटै ठाउँमा बस्न थालेपछि न्यायाधीशहरूबीच अन्योल उत्पन्न भएको छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सबै मन्त्रीहरुले आ–आफ्नो निवासलाई नै मन्त्रीक्वाटर बनाएका थिए । तत्कालीन युवा मन्त्री बब्लु गुप्ताले मात्रै भैंसेपाटीको त्यो सग्लो भवन प्रयोग गरेका थिए । हाल पुल्चोकमा मुख्य रजिष्ट्रार विमल पौडेलसहित १३ न्यायाधीश बस्दै आएका थिए । तर बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने लगत्तै सरसफाइ सुरु भएपछि न्यायाधीशहरु नैतिक संकटमा परेका छन् ।