२०८३ बैशाख १० , बिहिवार

नयाँ सरकार गठनको गृहकार्यमा जुट्यो रास्वपा, मन्त्रीहरूको सूची बनाउँदै रवि र बालेन्द्र

RSP

सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले मन्त्रीहरूका विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको बताए । ‘कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेका छन्, निष्कर्षमा पुगेको अवस्था छैन,’ उनले भने, ‘मन्त्रालय १५ देखि १८ बीचमा हुने कुरा छ ।’

एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर भावी प्रधानमन्त्री शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ ।

शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । ‘१३ जना प्रत्यक्षबाट नै निर्वाचित भएर आउनुभएको छ भने ४८ जना समानुपातिकबाट सांसद बन्नुभएको छ, ३–४ जना महिला मन्त्री बन्ने पक्का छ, कसलाई बनाउने भन्नेबारे परामर्श जारी छ,’ उनले भने ।

मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । ‘पार्टी सभापति र वरिष्ठ नेताबीच मन्त्री छनोटबारे छलफल चलिरहेको छ, मन्त्री बन्ने ३–४ जना पक्का भएको छ, अन्य सम्भावित व्यक्तिहरूको पृष्ठभूमिसँगै योग्यता र क्षमताबारे अध्ययन भइरहेको छ,’ उनले भने । सोबितालाई सभामुखको जिम्मेवारी दिने विकल्पबारे पनि परामर्श भइरहेको ती नेताले जानकारी दिए ।

मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेताहरू बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइनसकेको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो । त्यसयता लामिछाने र शाहबीच छलफल जारी छ ।