२०८३ बैशाख १० , बिहिवार

हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम

licensed-image

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्।

हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ।

सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्।

इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्।

‘४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,’ ट्रम्पले लेखेका छन्।

 

इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ। जसकारण यो मार्ग बन्दप्रायः छ।

भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिएको भनिएको छ। भारतले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको भनिएको छ।

हर्मुज बन्द भएपछि विश्वबजारमा तेलको भाउ बढेको छ। युद्ध सुरू हुनुभन्दा अगाडि ७० डलर प्रतिब्यारोलसम्म मूल्य रहेको कच्चा तेलको भाउ तीन सातामै भाउ बढेर सय डलरभन्दा माथि पुगेको छ।

अमेरिकाले आफ्नो भण्डारबाट तेल निकालेर बजार पठाएको भए पनि मूल्य नियन्त्रणमा आएको छैन।