२०८२ फाल्गुन २८ , बिहिवार

इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

Oil

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ ।

 

आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’

मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । तेल मूल्यको आकासिएको छ ।