२०८२ फाल्गुन २३ , शनिवार

चितवन २ मा रवि लामिछानेको ह्याट्रिक

Rabi

सुनाखरी न्युज/ भरतपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्। लामिछानेले  शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुनस् संसदको यात्रा तय गरेका हुन्।

 

 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत मात्रै पाइन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ, जुन यो क्षेत्रको निर्वाचन इतिहासमै निकै शक्तिशाली अन्तर हो।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मतमा चित्त बुझाएका छन्। चितवन २ मा कुल ८७ हजार ०२८ मत गणना भएको थियो।

यसअघि २०७९ सालको आम निर्वाचनमा लामिछानेले ३४ हजार २८१ मतान्तरले जित निकाल्दै ४९ हजार ३०० मत पाएका थिए। त्यसबेला उनले कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए। तर, नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि उनले ५४ हजार १७६ मतसहित भारी जित निकालेका थिए।

उपनिर्वाचनमा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए। यसपटकको निर्वाचनमा लामिछानेले आफ्नै पुरानो रेकर्ड सुधार्दै मतान्तरलाई झण्डै ४० हजार पुर्‍याएका छन्।