
सुनाखरी न्युज/ काठमाडौं ।
इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेसँगै विभिन्न राष्ट्रले आफ्नो एयर स्पेस बन्द गरेका छन्। एयरस्पेस असुरक्षित भएसँगै धेरै एयरलाइन्सले आफ्ना उडानहरू रद्द वा स्थगित गरेका छन् । क्षेत्रीय हवाई क्षेत्र बन्द र बढ्दो सुरक्षा संकटका कारण खाडीका प्रमुख विमान सेवाहरूले आफ्नो उडान स्थगित गरेका हुन्।
नेपाल एयरलाइन्सले दुबई र दोहा गन्तव्यतर्फका उडानहरू अर्को सूचना नआउन्जेलसम्म रद्द गरेको छ। दमाम गन्तव्यतर्फका उडानहरू पनि स्थगित गरिएको छ। एयरलाइन्सले यात्रुहरूलाई आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, यूएई लगाएयतका देशमा हुने उडान समते हुन सकेको छैन ।इरानले जवाफी कारबाही स्वरूप इजरायल र वरपरका खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल वर्षा गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इरान, इजरायल, इराक, युएई, कतार र कुवेतले आफ्नो राष्ट्रिय हवाई क्षेत्र नागरिक उडानका लागि पूर्णतः बन्द गर्ने घोषणा गरेका हुन्।
यस क्षेत्रको आकाश युद्धग्रस्त बनेपछि अन्तर्राष्ट्रिय उडानहरूमा ठुलो अवरोध सिर्जना भएको छ।उडान रद्द गर्ने विमानसेवाहरूमा एयर फ्रान्स, एयर इन्डिया, ब्रिटिस एयरवेज, इबेरिया एक्सप्रेस, र इन्डिगो रहेका छन्। त्यस्तै, जापान एयरलाइन्स, लट एयरलाइन्स, लुफ्थान्सा, नर्वेजियन एयर, र टर्किस एयरलाइन्सले पनि आफ्ना सेवाहरू पूर्ण रूपमा बन्द गरेका छन्। हवाई मार्ग बन्द हुँदा एसिया र युरोप जोड्ने अन्तर्राष्ट्रिय उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विमानहरूले इरान र इराकको आकाश छल्न लामो र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा उडान समय ३ देखि ५ घण्टासम्म थपिएको छ।
अन्तर्राष्ट्रिय उडानका वायुसेवाले उडान गर्न नसक्दा त्रिभुवन विमानस्थबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिकामा अधिकांश रद्द भएको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेवनान र बहराइनको एयरस्पेस बन्द भएकोले ती गन्तव्यमा हुने उडान पूर्ण रुपमा प्रभावित भएका छन । नेपालबाट ती मुलुकमा जहाँ उडान हुन्थ्यो ती सबै रोकिएको छ ।काठमाडौं विमानस्थलबाट हुने कुवेतको जजीरा एयरको एक, कुवेत एयरको दुई, संयुक्त अरव इमिरेट्स ( यूएई ) को एयर अरेवियाको तीन, फ्लाई दुवाई तीन, नेपाल एयरलाइन्सको तनि, कतार एयरवेजको तीन, हिमालय एयरलाइन्सको ६ वटा उडान प्रभावित भएको छ ।