
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागू पूर्णिमा ( होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल जारी गरेको छ। निर्वाचनको संवेदनशील समय र लागू रहेको आचारसंहितालाई आधार मान्दै यस वर्षको होलीमा विशेष निगरानीसहित कडाइ गरिने प्रशासनले जनाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनाअनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै- झगडा गर्ने, र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल नपुर्याउन भनिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनको छ ।
यसपटकको होली निर्वाचनको समयसँग जोडिएकोमा निर्वाचन आचारसंहिता पालनामा सीडीओ कार्यालयको जोड छ । होलीमा कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । खुला सडक तथा सार्वजनिक स्थानमा भेला भएर भिडभाड गर्न, मेला–महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न तथा मादक पदार्थको बिक्री, वितरण र सेवनमा समेत रोक लगाइएको छ।