
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही दिनका लागि लागू गर्ने घोषणा गरेका हुन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर ट्यारिफ दर घटाएका देशहरू अब पुरानै सहमतिभन्दा फरक १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन् । यसमा बेलायत, भारत र युरोपेली संघलगायतका देश समावेश छन् ।
ती देशहरूले भने सम्झौताअनुसार दिएका सहुलियतहरू यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको बीबीसीले जनाएको छ ।
नेपाल र अमेरिकाबीच ठूलो परिमाणको द्विपक्षीय व्यापार नभए पनि अमेरिका नेपाली वस्त्र, तयारी पोशाक, हस्तकला तथा केही कृषि–उत्पादनको प्रमुख बजारमध्ये एक हो । विशेष गरी नेपाली गलैंचा, पस्मिना, हस्तनिर्मित सामान र केही गार्मेन्ट उत्पादन अमेरिका निर्यात हुने गरेको छ ।
यदि अमेरिकाले सबै देशमाथि समान १० प्रतिशत अतिरिक्त ट्यारिफ लगायो भने नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घट्न सकछ ।
भारत, बंगलादेश वा भियतनामजस्ता प्रतिस्पर्धी देशका उत्पादनमाथि पनि समान दर लागे पनि मूल्य संवेदनशील बजारमा सानो शुल्क वृद्धिले समेत निर्यात घट्न सक्ने जोखिम हुन्छ ।
यद्यपि, नेपालले अमेरिकासँग पाउने केही विशेष व्यापारिक सुविधा कायम रह्यो वा रहेन भन्ने विषय स्पष्ट भइसकेको छैन ।