
सुनाखरी न्युज/ काठमाडौं ।
आज नेपालमा ७५औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। निरङ्कुश राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते जनआन्दोलनमार्फत प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम भइरहेको छ । शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानपछि २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ। यस अवसरमा काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ। समारोहका लागि सुशीला कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका सबै आन्दोलन तथा योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ। उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।