
सुनाखरी न्युज/ काठमाडौं ।
अब धितोपत्र ब्रोकरहरूले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।
मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र बोर्डले कडा मापदण्ड तोकेको छ । गत सोमबार बसेको बोर्ड सञ्चालक समिति बैंठकले मार्जिन कारोबारसम्बन्धी २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ जारी गरेको हो । निर्देशिकाले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने बाटो औपचारिक रूपमा खोलिदिएको छ ।
उक्त निर्देशिका आउँदो १ फागुन अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ ।
कम्तीमा २५ लाख कित्ता साधारण सेयरमा नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरमा मात्र मार्जिन सुविधा हुनेछ । प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने सर्त पनि राखिएको ।छ । आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।
मार्जिन कारोबारअन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ । कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ । सेयरको मूल्य घटेर यो सीमाभन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ ।
तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार हुनेछ । पारदर्शिता सुनिश्चित गर्न ब्रोकरले दैनिक रूपमा बजार मूल्यका आधारमा ‘मार्क–टु–मार्केट’ प्रणाली अनुसार मार्जिन हिसाब गर्नुपर्ने निर्देशकामा उल्लेख छ । यसका लागि ब्रोकरहरूले आफ्नै स्रोत वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन्, तर यस्तो ऋण उनीहरूको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने सीमा निर्देशिकामा निर्धारण गरिएको छ ।