
सुनाखरी न्युज/ काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक/एकलाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए ।
साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।बैतडीको पुर्चौडी नगरपालिका- ७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु.प्र. ०२-००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौंसम्म लग्न आवश्यक भए हेलिकोप्टरको व्यवस्था गरेको जनाएको छ ।