
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले टी–२० विश्वकपअन्तर्गत समूह चरणका सबै खेलहरु मुम्बईको वानखेडे रंगशालामा खेल्दै छ । यो रंगशालाको पीच सामान्यतया ब्याट्सम्यान मैत्री मानिन्छ । विश्वकपको अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा पुगेको नेपाली टोलीले त्यहाँ एक साता अभ्यास गर्नेछ। भारतको मुम्बईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन अभ्यास टी- २० खेलहरूको सिरिज खेल्ने तालिका छ।मध्य ओभरतिर पिच सम्हालिँदै जाँदा स्पिनरले पनि केही भूमिका खेल्न सक्छन्, तर यो मैदानमा स्पिनभन्दा फास्ट बलिङ बढी प्रभावकारी देखिएको इतिहास छ ।
विशेषगरी डेथ ओभरमा गल्ती गरे बलरहरू भारी रन खर्चिन बाध्य हुन्छन् ।वानखेडेमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पारीको औसत स्कोर करिब १७५–१८० रन रहँदै आएको छ । दोस्रो पारीको औसत स्कोर भने करिब १५५–१६० रन छ । यसले दुई सय रन नजिकको स्कोरलाई प्रतिस्पर्धात्मक मात्र होइन, कहिलेकाहीँ असुरक्षितसमेत बनाउँछ । यहाँ सर्वाधिक २३० रनको लक्ष्य चेज भएको र न्यूनतम १४३ रन डिफेन्ड भएको इतिहास छ । यो मैदानमा थुप्रै भिमकाय स्कोर बनेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उच्चतम टिम स्कोर २४७ रन हो, जुन घरेलु टिम भारतले बनाएको थियो । गत वर्षको फेब्रुअरीमा ईंग्ल्यान्डसँग खेल्दै भारतले ९ विकेट क्षतिमा २४७ रन बनाएको थियो । सबैभन्दा न्यून स्कोर चाहिँ श्रीलंकाले भारतविरुद्ध २०१७ मा बनाएको १३५ रन हो । आईपीएलमा त यस रंगशालामा २३० भन्दा माथिका स्कोरहरू सामान्य लाग्छन् । यहाँ १८० रनको लक्ष्य पनि सुरक्षित मानिँदैन । वान्खेडेमा खेलिने अधिकांश साँझका खेलमा ओस ( ड्यू ) ठूलो कारक बन्ने गर्छ । दोस्रो पारीमा बल चिप्लो हुने, स्पिन र कट–स्विङ कम हुने भएकाले चेज गर्ने टोलीलाई फाइदा पुग्ने तथ्यांकले देखाउँछ ।