
पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः०० बजे बङ्गलादेशको सामना गर्दैछ। त्यसअघि अपरान्ह १२ः०० बजे भारत र भुटान आमनेसामने हुनेछन्। खरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिग चरणको अन्तिम खेलमा नेपाल दबाबमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन । बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।
बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगेको छ । नेपाल र भारतले समान एकरएक खेल जितेर तीन अङ्क बनाएका छन् । भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन र अङ्कविहीन छ ।
भुटानले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बङ्गलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ ।