
सुनाखरी न्युज/ काठमाडौं ।
सुनसरी- १ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा आयोगमा उजुरी दर्ता भएको हो ।
साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।धरान नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको छ। समितिले उजुरीको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए। बालबालिका ऐनअनुसार बालबालिकाको राजनीतिक प्रयोजनमा प्रयोग गरेको आरोप प्रमाणित भएमा अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुन सक्ने व्यवस्था छ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख गरिएको छ ।