
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा आइतबार रियादमा हस्ताक्षर भएको छ । साउदी अरबमा जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको अधिकार सुनिश्चित गर्न दुई देशबीच श्रम सम्झौता गर्न एक दशकदेखि प्रयास भइरहेको थियो ।
सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले हस्ताक्षर गरेका छन् । अल–राजीले सन् २०१८ देखि मानव संसाधन मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् । नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ । अब खाडी देशमध्ये कुवेतसँग मात्रै सम्झौता हुन बाँकी छ । ओमनसँग भने मस्यौदामा सहमति भइसकेको छ ।
गत जेठ अन्तिम साता जेनेभामा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी सम्झौतालाई बाँकी राखेर सामान्य श्रम सम्झौता गर्ने सहमति भएको थियो । घरेलु श्रमिकसम्बन्धी सम्झौताका लागि थप गृहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।
सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकलाई थप अवसर प्रदान गर्ने, मानव तस्करीबाट जोगाउन पारदर्शी भर्ना प्रक्रियालाई प्राथमिकता दिने तथा श्रमिक र रोजगारदाताको अधिकारलाई सम्मान गर्ने विश्वास गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम मापदण्डलाई प्राथमिकता दिई सम्झौता गरिएको जनाएको छ । सम्झौताले साउदीको श्रम कानुनअनुसार त्यहाँ काम गर्ने नेपाली श्रमिकको तलबको सुरक्षा, दोहोरो करारपत्रको अन्त्य, अत्यधिक लागत खर्चको नियन्त्रण, म्यानपावर कम्पनीबाट हुने ठगीको अन्त्य, श्रमिकको न्यायमा पहुँच लगायत विषय सम्बोधन गरेको मन्त्रालयको भनाइ छ ।