
सुनाखरी न्युज/ काठमाडौं ।
विपिन कार्की र मिरूना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ बिहीबारदेखि युट्युबमा रिलिज भएको छ । नवीन चौहान निर्देशित फिल्म निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलबाट रिलिज भएको हो ।यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।
भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो । फरक भाषा र परिवेश भए तापनि सिनेमाले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो। समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश- विदेशका धेरै दर्शकहरूले सिनेमा रि- रिलिजको निरन्तर माग गरिरहेका थिए ।
दर्शकहरूप्रति रहेको त्यही जिम्मेवारीलाई सम्मान गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको बताएको छ । विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको सिनेमालाई आर्टमाण्डुले केवल एउटा सिनेमा मात्र नभएर माटो, सम्झना र सम्बन्धको न्यानो कथाका रूपमा चित्रण गरेको छ ।