
सुनाखरी न्युज / काठमाडौं ।
मनोनयन दर्ता सकेपछि उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् ।मतदातासँग भोट माग्दै गरेका ती उम्मेदवारहरुले अनेक थरिका चटक देखाएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी तापक्रम चुलिएको छ । तर यसपटक चुनावको लडाइँ केवल मञ्च, माइक र घोषणापत्रमा सीमित छैन । सांसद पद जित्न उम्मेदवारहरूले आफ्ना निर्वाचन क्षेत्रमा मतदाता रिझाउन आ–आफ्नै शैली अपनाइरहेका छन्। कोही भारी बोकेको तस्बिर खिचाएर सामाजिक सञ्जालमा भाइरल हुन तल्लीन देखिन्छन् भने कोही मतदातासँगै खेतबारीमा पुगेर काम गरेको नाटक मञ्चन गरिरहेका छन्।
केही उम्मेदवार भने पुरानै शैलीमा विकास र समृद्धिको झुटो नारा लगाइरहेका छन्। मतदाता रिझाएर ब्यालेट बक्समा मत खसालेर संसद् भवन छिर्ने र त्यसपछि जनता बिर्सने प्रवृत्ति नै उनीहरूको नियति बनेको छ।कतै उम्मेदवार ढोगेर भोट मागिरहेका छन्, कतै साइकल चलाउन सिक्दै, कतै जेरी पकाउँदै, कतै फोहोर उठाउँदै, त कतै मोबाइलमार्फत बाबुआमा र हजुरआमालाई सम्झाउँदै । भोटकै लागि मतदाता सामु उम्मेदवारहरुले देखाएको चटक विचित्रको छ । चुनाव अब दलहरूको मात्र प्रतिस्पर्धा नभई शैली, छवि र जनतासँग जोडिन सक्ने क्षमताको पनि लडाइँ जस्तो बनेको छ ।चुनावी प्रचारको यस्तो चटके शैलीमा पूर्वपत्रकारसमेत रहेका आम जनता पार्टीका उम्मेदरवार ऋषि धमला सबैभन्दा अगाडि देखिएका छन् ।
रौतहट–४ बाट उम्मेदवारी दिएका धमलाले पत्रकारिता गरेको बेलाकोजस्तै चटपटे शैली मिसाएर मान्छे हँसाइरहेका छन् । कहिले स्थानीय होटलमा पसेर जुलेबी पकाउन खोज्दै गरेको देखिन्छ त कहिले काठ मिलमा पुगेर सिकर्मी बन्दै गरेको । भिडियोमा उनी काठ मिलमा पसेर हाते आरोले काठको टुक्रा चिर्न तम्सिएका देखिन्छन्, तर आरो बाँगो जान थालेपछि असिनपसिन हुँदै उठ्छन् । अनि नजिकै रहेका एकजना युवा भन्दैछन्, ‘नेता हुनजस्तो कहाँ सजिलो छ र, काम गर्न त गाह्रो छ दाई ।’
धमलाको चटके शैलाीलाई नुवाकोटका अर्का उम्मेदवार अच्युतम लामिछानेले पच्छ्याएका छन् । नुवाकोट–२ बाट रास्वपाका उम्मेदवार बनेका लामिछाने गलामा फूलको माला र पछिल्तिर राष्ट्रिय झण्डा ओढेर भोट माग्दै गरेको भिडियोमा देखिन्छ । अनि सडक छेउमा मान्छे देख्नेबित्तिकै उनी परैबाट हात उठाउँदै पुग्छन् । ‘नझुक्किनुहोला, छोरो आयो नाति आयो’ भन्दै हात जोड्दै सडकमै लम्पसार परेर ढोग्छन् । उनको शैली प्रत्यक्ष देख्नेहरु अनौठो मानेर हेर्दैछन् ।
बालेनले दमक–५ मा एउटा साधारण घर भाडामा लिएर त्यहीँ बसेर मतदाता भेटिरहेका छन् । उनले परम्परागत घरदैलो छाडेर मतदाता आफैँ आउने अनौठो रणनीति अपनाएका छन् । बुधबार बिहानदेखि बेलुकासम्म उनको डेरा युवा, वृद्ध, महिला, जिज्ञासु नागरिक र आफ्ना गुनासा बोकेका आम मानिसहरू भीडले भरिएका थिए । कोही बेरोजगारीको कथा सुनाउँदै त कोही स्थानीय समस्या, कोही राजनीतिप्रति निराशा । बालेन धेरै बोल्दैनन् । उनी सुन्छन् । बाटोमा हिड्दा पनि उनको स्टाइल हात हल्लाउने, नागरिकका कुरा सुन्ने, हात मिलाउने, फोटो खिच्न चाहानेसँग पोज दिने र नमस्कार गरेर हिड्ने रहेका देखिन्छन् बालेन ।
किताब बेच्दा–बेच्दै शिक्षामन्त्री बनेका महावीर पुनको मत माग्ने शैली पनि अन्य उम्मेदवारभन्दा फरक देखिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरी पश्चिम म्याग्दीमा चुनावी प्रचारमा जुटेका पुन चुनावी एजेन्डा सुनाउँदै आफ्नै आत्मकथा बिक्री गरिरहेका छन्। घरदैलो अभियानमा सक्रिय पुनले चुनाव चिह्न पाएपछि मात्रै औपचारिक प्रचारप्रसार गर्ने बताएका छन्। लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला पनि यसपटकको निर्वाचनमा होमिएका छन्। धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी ( आजपा) बाट रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्।