
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र जारी छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र शरू हुनेछ।
आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ। चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ।