
सुनाखरी न्युज/ काठमाडौं ।
मुस्ताङको लोमान्थाङबाट अवैध रूपमा चीनबाट ल्याइएको करिब २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट ( भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् ।
उक्त इलेक्ट्रिक चुरोट ३–४ दिनअघि चीनबाट अवैध रूपमा ल्याएर नेपाल–चीन सीमानास्थित कोरला नाका अगाडि गाडीमा लोड गरी राखिएको अवस्थामा फेला परेको थियो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदय बहादुर कुमालको कमान्डमा खटिएको टोलीले यो कारबाही गरेको हो।
बरामद गरिएको सम्पूर्ण इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका पेमा लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ। ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार नेपाल -चीन सिमानाको कोरोला नाका अगाडिबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो ।