२०८२ फाल्गुन २३ , शनिवार

टिकेन रास्वपा-उनेपाबीचको सहकार्य, एक अर्कामा दोषारोपण

meet-1

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  र उज्यालो नेपाल पार्टी  ( उनेपा )  बिच हुने भनिएको पार्टी एकता आज ( शनिबार)   भाँडिएको छ ।रास्वपाका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र केन्द्रीय सदस्यको समायोजन गर्नुपर्ने सर्त राखेका थिए। साथै समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो स्थान कुलमान पक्षले पाउनुपर्ने अडान राखेपछि सहमति भंग भएको रास्वपाले जनाएको छ। उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको पनि बताए ।

छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो । समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ, घिसिङले भने, आज अन्तिम दिनमा एकतर्फी रुपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो । एकतर्फी रुपमा सहमति भंग भएको उहाँले मलाई जानकारी गर्नुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।

घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताए । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उनको भनाइ छ । संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताए ।