
सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कँदा बस दुर्घटनामा परेको थियो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५र६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।