
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८ : ४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो ।
महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५:४५ बजेको न्युनतम तापक्रम ३।४ डिग्री सेल्सियस थियो ।
काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ । मौसमविद उज्ज्वल उपाध्यायका अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।
काठमाडौं उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।
तराईरमधेशका जिल्लामा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको थियो । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने गरेको छ ।