२०८२ फाल्गुन २२ , शुक्रवार

संसारकै सबभन्दा ठूलो इभी बिक्रेता बन्दै बिवाइडी

BYD-Atto-3-scaled

सुनाखरी नयुज/ काठमाडौं ।
चिनियाँ बिजुली कार (इभी) उत्पादक कम्पनी बिवाइडी आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई पछि पार्दै विश्वकै सबभन्दा ठूलो इभी बिक्रेता बन्ने भएको छ।

बिवाइडीले वार्षिक बिक्रीका आधारमा पहिलो पटक टेस्लालाई उछिनेर विश्वकै ठूलो इभी कम्पनी बन्न लागेको हो।

बिवाइडीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष कम्पनीका गाडीको बिक्री करिब २८ प्रतिशत बढेर २२ लाख ५० हजारभन्दा बढी पुगेको बिबिसीले जनाएको छ।

उता, टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। गत साता प्रकाशित विश्लेषकहरूको अनुमान अनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार गाडी बिक्री गरेको छ।

अमेरिकी कम्पनी टेस्लाले सन् २०२५ मा चुनौतीपूर्ण समय भोग्नुपरेको थियो। कम्पनीका प्रमुख एलन मस्कका राजनीतिक गतिविधिप्रति असहजता र चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूको बढ्दो दबाबले टेस्लाको बिक्री प्रभावित भएको विश्लेषण गरिएको छ।

गत अक्टोबरमा टेस्लाले बिक्री बढाउने उद्देश्यले अमेरिकामा आफ्ना दुई सर्वाधिक बिक्री हुने मोडेलका सस्ता संस्करण सार्वजनिक गरेको थियो।

त्यसअघि प्रतिस्पर्धामा टिकिरहन टेस्लाले नयाँ र किफायती मोडेल ल्याउन ढिलो भएको भन्दै आलोचना हुँदै आएको थियो।