
सुनाखरी न्युज/ काठमाडौं ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोमा रहेको ईपीएस कार्यालयमा विरोध प्रदर्शन सुरु भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दुई वर्षअघि भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले पुनस् विरोध प्रदर्शन थालेका हुन् ।
दुई महिनाअघि समेत उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन गरेका थिए । त्यो बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत युवाबीच सहमति भएको थियो । तर, दुई महिना बित्दासमेत सरकारले केही नगरेको भन्दै उनीहरू पुन: प्रदर्शनमा उत्रिएका हुन् ।
ईपीएस शाखा कार्यालयमा २ सयभन्दा बढी संख्यामा रहेका युवाले नाराबाजी गरिरहेका छन् ।
भाषा र सिप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । भाषा परीक्षा पास गरेर कोरिया जाने प्रतीक्षामा रहेको २ वर्ष हुन लाग्दा समेत जान नपाएको भन्दै उनीहरूले सरकारमाथि आरोप लगाउँदै आएका छन् ।
सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् ।
कोरियामा कामदार पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।
सरकारले भने उनीसँगै यसअघि भएको सहमति अनुसार उनीहरूका मागलाई कोरिया सरकार समक्ष पेस गरिएको जनाएको छ । ईपीएस शाखा कार्यालयकी निर्देशक बिन्दा आचार्यले युवाको माग नेपाल सरकारले सम्बोधन गर्न नसक्ने खालको रहेको बताइन् ।
उनीहरूले अघि सारेका माग कोरियाली सरकारमा पेस गरिएको र उताको सरकार सकारात्मक रहेको बताइन् ।
कोरियाले सन् २०२४ को तुलनामा २०२५ मा बढी श्रमिक लगेको शाखाले जनाएको छ । २०२४ मा ९ हजार २ सय हाराहारी लगेकोमा २०२५ मा ११ हजार २ सयजति नेपाली ईपीएस मार्फत कोरिया गएको निर्देशक आचार्यले बताइन् ।